सभार


गाउँमै छ समृद्धिको सागर

हिजोआज युवा पुस्तामा बिदेसिने लहर चलेको छ । राज्यले युवा पुस्ताको निर्मम बहिर्गमन केवल टुलुटुलु हेर्न सिवाय केही गर्न सकेको छैन । बिग्रँदो राष्ट्रिय राजनीति एवं  प्रतिकूल आन्तरिक वातावरणकै कारण पनि युवाहरूमा यस्तो मनोभाव जागृत हुँदै गएको हो ।


०५२ सालतिर तत्कालीन नेकपा (माओवादी)ले थालेको दीर्घकालीन जनयुद्धसँगै युवाहरूमा विदेश पलायनको श्रृंखला सुरु भएको हो । प्रतिकूल वातावरण त्यतिबेलाका  युवाका लागि बिदेसिनुको प्रमुख कारण बनेको थियो, तर आज देशको बदलिएको परिस्थितिमा पनि युवाहरूको विदेश पलायन रोकिएको छैन । बरु अझ घनिभूत रूपमा यो  श्रृंखलाको विस्तार हुँदै गएको छ । राजनैतिक, आर्थिक तथा सांस्कृतिक रूपले समेत देश धराशायी बन्दै गएको र गरिखान पाइने आन्तरिक वातावरण सबल नभएको  भन्नेजस्ता कारणहरूले बिदेसिनु ठीक भएको युवाहरूको दाबी छ ।


हाम्रोजस्तो शैक्षिक रूपले समेत पिछडिएको मुलुकका लागि 'स्नातकोत्तर' डिग्री हासिल गर्नु ठूलै उपलब्धि मानिन्छ, तर त्यति ठूलो शिक्षाको स्तर लगभग हासिल गर्ने  युवापुस्तामा पलाएको वितृष्णा पक्कै देशको घनघोर संकटदेखि तर्सिएको मनोभावना हो । देशको भविष्य हराएको संकेत हो । युवाहरू जो आफ्नो र सिङ्गो देशकै भविष्यका  खातिर वर्षौंवर्ष कठोर तपस्या गरेर पढ्न सक्छन् भने तिनका मन-मस्तिष्कमा सरकारले स्वदेशी सम्भावनाको किरण छर्न सक्दैन ? वा त्यो दायित्व सरकारको होइन ?  कुमालेले विभिन्न रूप, रंग र आकारका भाँडा सिर्जित गर्न मुछेको काँचो माटोझैं लाग्ने कलकलाउँदा युवाहरूलाई किन केही गर्न सरकारले उत्साहित गर्दैन ? गाउँ भनेको  त नयाँ नेपाल निर्माणका लागि आर्थिक क्रान्तिको जग नै हो ।


गाउँ पर्यटकीय सम्भावनाको आधार स्थल हो । गाउँ नयाँ समुन्नत नेपाल निर्माण गर्न वर्षौं आन्दोलन गरेका वीर मानिसहरूको बस्ती हो, जहाँ पौरखको बीउ रोप्न  सकिन्छ, गौरवको इतिहास रच्न सकिन्छ । प्रकृतिका अनुपम स्रोत साधनको अधिकतम उपयोग र नयाँ आविष्कार गर्न सकिन्छ भने गाउँमा के छैन ? छ, निश्चय नै छ ।  सकारात्मक चस्माले गाउँलाई हेर्ने हो भने त्यहाँ जताततै सम्भावना नै सम्भावना छ । भनिन्छ, देश अहिले दूध उत्पादनमा समेत आत्मनिर्भर बन्न सकेको छैन । माछा,  मासु फलफूल तरकारी तथा अन्य कृषिजन्य उत्पादनको त कुरै भएन । त्यस्तै सेवा क्षेत्रमा त नेपाल अझै परनिर्भर बन्दै गएको छ ।


स्वदेशी विश्वविद्यालयमा अध्ययन गर्नुभन्दा महँगो व्ययभारमै भए पनि विदेशी विद्यालय धाउने परम्परा बढ्दो छ । के नेपालका होनहार प्रतिभाहरू अक्सफोर्ड  विश्वविद्यालयका प्रा.डा. शिव गौतम, बेलायतको लिड्स विश्वविद्यालयका प्रा. सूर्य सुवेदीहरू संसारका बहुआधुनिक भनिने देशहरूमा प्राध्यापन गर्ने क्षमता राख्छन् भने  तिनले नेपाललाई शैक्षिक रूपले गुणस्तर र आत्मनिर्भर राष्ट्र बनाउन सक्दैनन् ? कि उनीहरूलाई पनि राज्यले उपेक्षा नै गर्दैछ ? भारत, चीन, अमेरिका, बेलायत, अस्ट्रे लिया आदि विश्वका धेरैजसो देशमा छरिएका नेपालीहरू जस्तोसुकै काम गर्न पछि पर्दैनन्, तर नेपालमै भने ढलेको लोटा उठाउने जाँगरसमेत चलाउँदैनन् किन ? किनभने  नेपाललाई माया गर्ने संस्कृति अब लोप हुन थालिसकेको छ ।


विश्वव्यापीकरण एवं भूमण्डलीकरणले गर्दा स्वदेशी वस्तुको उपभोगमा समेत नेपालीहरूको मन जान छाडिसक्यो । केवल विदेशी संस्कृति, लवज, रीतिथिति, भोगविलास एवं  भूलभुलैयामा हामीहरू फसिसक्यौं । त्यसैले त हामी आर्थिक सम्भावनाको खानी देश नेपाललाई अन्धकारमय खाडी देख्छौं । इमेल, इन्टरनेटले विश्वलाई नै एउटा गाउँ  बनाइसकेको परिवेशमा गाउँमै बस्नुलाई पछि परिएको भन्छौं । यो एउटा दुर्भाग्य नै हो, संकीर्ण विचारको उपज । तसर्थ अबको नयाँ पुस्ताले हरेक खालका प्रतिकुल  पाटाहरूसँग संघर्ष गरेरै भए पनि नेपाली माटोलाई माया गर्ने प्रण गर्नैपर्छ । यदि युवापुस्ताले देशलाई माया गर्न सक्यो भने, स्वदेशमै केही गर्न थाल्यो भने हामी निश्चय  नै एक कदम अघि बढ्नेछौं । त्यसकारण युवापुस्ताले अब अमेरिका, बेलायत, अस्टे्रलिया होइन, हुम्ला, जुम्लाजस्ता ठाउँहरूमा जान आइएलटीएस र टोफल गर्न अब ढिलाइ  गर्नु हुँदैहुँदैन ।


ऋषभ गौतम